काँचो अदुवा विक्रि नभएपछी सल्यानका किसानले सुठो बनाएका छन् । उत्पादित अदुवा विक्रि नभएपछी तथा विक्रि भएपनि मुल्य नपाएपछी किसानहरुले सूठो बनाउन थालेका हुन् । र स्थानीय व्यापारीहरु पनि अदुवा विक्रि नभएपछी मारमा परेका छन् भने खरिद गरेको अदुवालाई चाना र सुठो बनाउन थालेका छन् ।जिल्लाको बागचौर नगरपालिका स्थित खरिबोटका कृषकहरु पनि काँचो अदुवा विक्रि नभएपछी सुठो बनाउन थालेका छन् । बागचौर २ खरिबोट निवासी कृषक सुरेश ओलीले १० क्विन्टल विउ रोपेकोमा उत्पादन भएको अदुवा विक्रि नभएको भन्दै दुःखेसो पोख्नु भयो ।

उहाले भन्नुभयो, यस वर्ष देखी वृहत रुपमा अदुवा खेति संगै यसको व्यापार गर्ने योजना बनाएको थिएं । भाउ नै नगएपछि निराश भैयो ।’ रुकुमबाट समेत उहाले केही अदुवा किनेर ल्याउनु भएको थियो । तर काँचो अदुवा विक्रि नभएपछि केहीको चाना बनाइरहेको उहाले बताउनुभयो । ९० क्विन्टल जती अदुवालाई सुठो बनाएको जनाउदै उहाले जिल्ला कृषि विकास कार्यालयबाट मेसिन सहयोग प्राप्त भएकाले त्यसैबाट अदुवाको चाना बनाइरहेको जानकारी दिनुभयो ।अदुवालाई मुख्य आयश्रोत बनाएर अदुवा तथा बेसार खेति गर्दै आएका जिल्लाका किसानहरु यस वर्ष अदुवाले मुल्य नपाएपछि चिन्तित बनेका हुन् ।
अदुवाको मुख्य व्यापारी भारतीय व्यापारि भएको र उनीहरुले मुल्य घटाउने गरेका कारण समस्या आएको किसानहरुको बुझाई छ ।किसानले उत्पादन गरेको वस्तु आफ्नै शहर बजारमा खपत हुन नसक्दा अदुवा बजार पटक पटक प्रभावित हुने गरेको स्थानीय व्यापारिहरु बताउँछन् । लामो समय देखि अदुवाको व्यापार गर्दै आएका कपुरकोट २ का व्यापारी प्रेम बहादुर बाँठाले यस वर्ष अदुवाको मुल्य नराम्रोसंग घटेको बताउनुभयो । उहाले भन्नुभयो,गत वर्ष काँचो अदुवा प्रतिकिलो ३६ रुपैयाँ सम्म विक्रि भएको थियो ।
यसपटक २५ रुपैयाँ किलोमा किनेको १५ रुपैयाँ किलोमा पनि विक्रि हुन मुस्किल छ । विक्रि नभएपछि आफ्नो बारीमा उत्पादन भएको तथा किसानबाट खरिद गरेको अदुवालाई सुठो बनाउन थालेको प्रेम बहादुरले बताउनुभयो । यस्तै कपुरकोट ३ का किसान डम्बर बहादुर डाँगीले पनि ५ रोपनिमा खेति गरेको अदुवाले मुल्य नपाएपछि सुठो बनाएको बताउनुभयो ।