नेकपामा साता नपुग्दै पार्टी निर्णय उल्लंघन

0
189
Google search engine

काठमाडौंः नेताहरूका नाममा खुलेका प्रतिष्ठानका कारण गुटबन्दी बढेको भन्दै गतिविधि गर्न नदिने गरी स्थायी कमिटी बैठकले निर्णय गरेको सात दिन र अन्तरपार्टी निर्देशन जारी भएको तीन दिन नबित्दै निर्णयको उल्लंघन हुने भएको छ ।

प्रतिष्ठानलाई समानान्तर पार्टीको हैसियतमा देशव्यापी विस्तार गर्दा नेता–कार्यकर्ता गुटप्रति बढी इमानदार भएको भन्दै नेकपाले सर्कुलर जारी गरेको भए पनि मदन भण्डारी फाउन्डेसनले बिहीबारदेखि नै देशव्यापी कार्यक्रम गर्दै छ ।

संविधान र मदन भण्डारीलाई जोडेर देशैभरि गर्न लागिएको कार्यक्रमको बिहीबार तालिका सार्वजनिक गर्ने र शुक्रबारदेखि फाउन्डेसनको केन्द्रीय कार्यालयदेखि स्थानीय तहसम्मका कमिटीले आ–आफ्ना किसिमले कार्यक्रम आयोजना गर्ने फाउन्डेसनका केन्द्रीय सदस्य गुरु बरालले जानकारी दिए । बरालका अनुसार असोज ३ गते फाउन्डेसनले केन्द्रीय कार्यालयमा विचार गोष्ठी राखेको छ ।

उक्त गोष्ठीमा १५ जनाजति प्रत्यक्ष रूपमा भेला हुने र अरूलाई देशव्यापी रूपमा सञ्चारका विभिन्न माध्यमहरूमार्फत जोड्ने तयारी भइरहेको फाउन्डेसनका काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौलाले बताए । ‘संविधान दिवसको अवसर पारेर १५ गतेसम्म रक्तदान, सरसफाइ, विचार गोष्ठीलगायत कार्यक्रम देशव्यापी हुँदै छ, काठमाडौं जिल्लाका ११ वटै पालिकाले पनि गर्दै छन्,’ निरौलाले कान्तिपुरसँग भने, ‘नेपालको संविधान र मौलिक अधिकार शीर्षकमा विचार गोष्ठी हुनेछ ।’ उक्त कार्यक्रममा कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फेलाई बोलाएको भए पनि आउने/नआउने निश्चित भइनसकेको उनले बताए ।

यस्तै फाउन्डेसनले नेपालको संविधान र जननेता मदन भण्डारी शीर्षकमा देशव्यापी निबन्ध प्रतियोगिता गर्ने तयारी गरेको छ । निरौलाका अनुसार निबन्धहरू १५ गतेसम्ममा इमेलमार्फत मगाइने र उत्कृष्ट तीन वटालाई पुरस्कार दिनुका साथै १० वटा निबन्ध पुस्तकका रूपमा निकालिनेछ । उनले फाउन्डेसनले कतै विभिन्न सहकारी र क्लब, कतै पार्टीसँग मिलेर र कतिपय ठाउँमा एक्लै कार्यक्रम गर्न लागेको बताए । उनले पार्टीको स्थायी कमिटी बैठक र अन्तरपार्टी निर्देशनले समेत मदन भण्डारी फाउन्डेसनलाई कार्यक्रम गर्न रोक नलगाएको बताएका छन् । ‘हामीले रचनात्मक कार्यक्रम र विचार गोष्ठीहरू गर्छौं,’ उनले कान्तिपुरसँग भने, ‘पुष्पलालका नाममा साथीहरूले तलतल गएर कार्यक्रम गर्ने र पार्टीमा दरार आउने काम गरेकाले मात्रै यस्तो कुरा आएको हो ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here